प्रेस विज्ञप्ती : "राज्यको अमानवीय व्यवहारका विरुद्दमा"

July 12, 2026
min read

राज्यले गरेको आत्महत्या दुरुत्साहनका कारण मृत्यु भएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली सहित:

असार २५ गते काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गिग वर्कर गणेश नेपालीले आत्मदाहको प्रयास गरे र उपचारका क्रममा उनको मृत्यु भयो । त्यसको ७२ घण्टा भित्रै थप अरू दुई आत्मदाहका प्रयास भए ।  यी घटनाहरूले नेपाली समाजलाई झस्काएको छ ।  यसअघि पनि सुकुम्वासी बस्तीबाट बलजफती निकालिएका इन्द्रबहादुर राई र रविन तामाङले आत्महत्या गरेको घटना ताजै छ ।


यति बेला दुई तिहाइको सरकार छ, अध्यादेश मार्फत पुराना राजनैतिक नियुक्तिहरू खारेज गरिएका छन् र संवैधानिक आयोगहरू र सर्वोच्च न्यायालय गिजोलिएको  छ । भ्रष्टाचारको नियन्त्रण र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागी भनेर अनेकौँ असान्दर्भिक र अवैध कदमहरू चालिएका छन् ।  तर 'देश बनाउने' नाममा गरिएका यी सबै सबै कामका बिचमा निमुखा नागरिकहरू कस्तो अनुभूति गरिरहेका छन् भन्ने कुराको दृष्टान्त आत्मदाहका यी घटनाहरू हुन् । 


सत्ताको ताबेदारीका लागी  तिनको स्तुति गाएरै जीविका चलाउने एउटा समूह सधैँ उपस्थित रहन्छ भन्ने इतिहास सिद्ध तथ्य हो ।  सधैँ झैँ यति बेला पनि तिनीहरू भजन बनाउन, गाउन व्यस्त छन् । सामाजिक सञ्जालका एल्गोरिदमहरूले बनाउने इको च्याम्बरहरूमा सबै ठिकठाक देखाउन ती लागी परेका छन् । यी आत्महत्याका घटनाहरू एउटा व्यक्तिको मानसिक स्वास्थ्यका निजी  समस्या प्रमाणित गर्न  ति जोडबल गरिरहेका छन् । खण्डन गर्न योग्य समेत नरहेका यस्ता कुतर्कहरूको  हामी भर्त्सना गर्दछौँ ।


अमानवीय र आततायी तरिकाले  बास विहीन बनाएर 'होल्डिङ सेन्टर' नामका  जोखिमपूर्ण ठाउँमा राखिएका निमुखा नागरिकहरू डुबानमा परेपछि तिनलाई सान्त्वना दिन पुगेका राजनीतिकर्मी र युवा अभियानीहरूप्रति हिजो मात्रै प्रहरीले देखाएको उद्दण्डता कुनै एउटा छुट्टै घटना होइन ।  कुनै विधि र कानुनले नचिन्ने मानिसहरूले  त्यहाँ गरेको  प्रहरीको  परिचालन पनि कुनै एउटा बेग्लै घटना होइन । खासमा यी घटनाहरू यो शासनको तौरतरिका नियाल्न मिल्ने आँखीझ्याल हुन् ।


सामान्य घटनामा समेत आत्मदाह गर्नु पर्ने गरी नागरिक किन निरीह र  विकल्पविहीन बनेको छ भन्ने कुराको प्रमाण हो यो । कसरी कुनै अवैध गिरोहले अनुचित तवरले राज्यका निकायहरू सञ्चालन  गरिरहेको छ भन्ने प्रमाण हो यो । 


हामी हिजो किर्तिपुरको 'होल्डिङ सेन्टर' मा राज्यद्वारा देखाइएको नियोजित उद्दण्डता र गिरफ्तारीहरूको भर्त्सना गर्दछौँ । साथै, प्रहरीको कुटपिटबाट घाइते हुनु भएका साथी माजिद अन्सारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौ ।


हाम्रो धारणा प्रस्ट छ - आत्महत्या गर्नु पर्ने स्तरमा नागरिकलाई निरीह र विकल्पविहीन बनाउने गरी राज्यले गरेका यी अवैध र अनुचित अपराधहरूको दोषी सरकारमा रहेका केही अनुहारहरू मात्रै होइनन् । यो उद्दण्डता र अपराधको विपक्षमा नउभिने सबै सबै यसका दोषी हुन् । सरकारलाई उचालेर यहाँसम्म ल्याउनेहरू पनि यसका दोषी हुन्। 


हामी बिर्सिँदैनौ !


केही स्वघोषित "बुद्दिजीवि"हरूलाई लाग्छ - नेपाली जनता चोट छिट्टो बिर्सन्छन् । तर सत्य के हो भने सयौँ वर्ष अघि देखि गरिएका अन्यायको हिसाब किताब अझै हाम्रो स्मृतिमा मिलान भइसकेको छैन । उन्नत विकल्प "यही" हो भन्ने भाष्य बनाएर नेपाली जनतालाई यो हदसम्मको अराजक , गैह्र जिम्मेवार र तानाशाहोन्मुख शासन भोग्न बाध्य बनाउनेहरूको हिसाब उचित तरिकाले मिलान नगरेसम्म बिर्सिइने छैन ।


अन्त्यमा सबै न्यायप्रेमी मानिसहरू संग हाम्रो अपिल छ -  यो अन्याय र अपराधको समाधान आत्महत्या होइन । सामुहिक र सङ्गठित प्रतिवाद गरेर मात्रै हामी यसलाई जित्न सक्छौँ ।  

मिति: २०८३/०३/२८

You Might Also Like