प्रेस विज्ञप्ति - भदौ २३, २०८२
यो लेखिरहँदा सम्ममा देशभरमा १९ जनाको मृत्यु र ३४७ जना घाइते भएको खबर सार्वजनिक भएको छ । ज्यान गुमाउनुहुने सबै साथीहरूप्रति हाम्रो असीम सम्झना छ । सम्पूर्ण घाइते साथीहरूको हामी शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।
कुनैपनि बहानामा किशोर आन्दोलनकारीहरूको टाउको ताकेर गोली चलाइनु क्षम्य हुन सक्दैन । सेना, प्रहरी, खुफिया गुप्तचर जस्ता थुप्रै निकायहरू हुँदाहुँदै पनि राजधानीको मुटुमै भिड नियन्त्रणमा राज्यले देखाएको कमजोरी र नालायकीका कारण यति ठुलो मानवीय क्षति व्यहोर्नु परेको कुरा स्पष्ट छ। तर यो एकमात्र कारण होइन ।
साथै सामाजिक सञ्जाल माथिको सरकारको प्रतिबन्ध यो विरोध प्रदर्शनको तात्कालिक कारण जस्तो देखिए पनि यो एकमात्र कारण होइन । सरकार र सत्ताको म्युजिकल चेयरमा लामो समयदेखि घुमिरहेका मुट्ठीभर शीर्षस्थहरूको नालायकी र लोभ यो निराशा र विद्रोहको एउटा प्रमुख कारण हो । नागरिकका सपनाहरूमाथि कुठाराघात गर्दै सत्ताको कुर्सीको दौडमा निरन्तर र निर्लज्ज ढङ्गले दौडिरहेका नयाँ र पुराना शीर्षस्थहरू यो प्रकरणका मुख्य दोषी हुन् ।
निश्चय नै यस घटनामा छानबिन र दोषी कर्मचारीमाथि दण्ड सजाय जरुरी छ । तर यस्तो अवस्था आउनुमा राजनैतिक रूपले जिम्मेवार मानिसहरूमाथिको कारवाही त्यो भन्दा धेरै महत्त्वपूर्ण र जरुरी काम हो भन्ने हाम्रो ठम्याइ छ ।
प्रदर्शन हिंसात्मक हुन थाल्ने बित्तिकै प्रदर्शनकारी अगुवा साथीहरूले प्रदर्शनमा घुसपैठ भएको जनाउँदै सहभागीहरूलाई घर फर्कन अपिल गर्नु भएको थियो । प्रदर्शन अगाडी पनि हिंसा आफ्नो उद्देश्य नभएको उहाँहरूले बारम्बार जोड दिनुभएको थियो । यी सबका बाबजुद प्रदर्शन हिंसात्मक भयो । यो प्रदर्शनलाई हिंसात्मक बनाउनमा प्रतिगामी घुसपैठ मुख्य रूपले जिम्मेवार छ । तर साथसाथै आफूले आफैलाई स्वतन्त्रको ट्याग लगाएका र सामाजिक सञ्जालका माध्यमबाट छद्म र सङ्गठित रूपमा उत्तेजना फैलाउन उद्दत अनेक “पपुलिस्ट” समूहहरू पनि उत्तिकै जिम्मेवार छन् ।
अघिल्लो पटक ज्ञानेन्द्र शाह, केही पूर्वपञ्चहरू र दुर्गा प्रसाईँको मिलीभगतमा मच्चाइएको अराजकताका मुख्य जिम्मेवारहरूलाई कारवाहीको दायरामा ल्याउन गरिएको कमजोरीको दुष्परिणाम आज उदाङ्गिएको छ । हामी यसपटक मच्चाइएको यो अराजकता र बर्बरताको गम्भीर, निष्पक्ष र स्वतन्त्र छानबिन र कारबाहीको समेत माग गर्छौ ।
सामाजिक सञ्जालहरूमा गरिएको सार्वजनिक अपिलका आधारमा र कुनै देखिने र ठोस नेतृत्व विना स्वतःस्फूर्त रूपमा भ्रष्टाचारको विरोध गर्न भेला भएका प्रदर्शनकारीहरूको बीचमा घुसपैठ र हिंसाको सम्भावना र पूर्व आशङ्का सर्वत्र थियो । त्यसका बाबजुद नागरिक समाज , मानवअधिकारकर्मीहरू लगायतका सबैले घुसपैठ र हिंसाबाट जोगाउन गर्नुपर्ने पूर्व तयारी र अनुगमन गर्न नसक्नुलाई सबैको सामूहिक कमजोरीका रूपमा ग्रहण गर्नु र आगामी दिनहरूमा यसबाट सिक्नु आवश्यक छ ।
नयाँ र उन्नत राजनीति र प्रणालीका लागी सङ्घर्षरत हामी सबैका लागी सु स्पष्ट राजनीतिक मागहरू र सङ्गठनको अभावमा विद्रोहहरूले कस्तो क्षति भोग्न सक्छन् भन्ने एउटा पाठ आजको घटना हो । साथै राज्य कति क्रूर र नृशंस हुन सक्छ भन्ने प्रमाण समेत हो । तर हाम्रो आजको पुस्ता यस्ता पाठहरूबाट सिक्न र अघि बढ्न सक्षम छ भन्ने हाम्रो गहिरो विश्वास छ । सम्पूर्ण Gen Z साथीहरूलाई आगामी लडाइँलाई थप योजनाबद्ध र सङ्गठित गर्दै अगाडि बढाउन सँगसँगै हातेमालो गर्न पनि हामी हार्दिक अपिल गर्दछौँ ।
फेरी पनि आज ज्यान गुमाउनुहुने सबै साथीहरूप्रति हाम्रो असीम सम्झना छ । शोकाकुल सबैसँग हामी वेदना साझा गर्छौ र सम्पूर्ण घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।
मिति - भदौ २३, २०८२