राज्य ज्यादतीका विरुद्ध हाम्रो आवाज

March 21, 2025
min read
 
औरही गाउँपालिका–५, नवटोलीमा विगत २५ वर्षदेखि बस्दै आएका डोम समुदायका अनिता मलिक र दिपक मलिकको घर “धार्मिक महायज्ञ” गर्ने नाममा महायज्ञका आयोजक बजरंगी बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादवले सरकारी डोजर प्रयोग गर्दै गत फागुन १० गते जबरजस्ती भत्काइ, दलित बसेको ठाउँ अपवित्र हुने भन्दै त्यस ठाउँको माटो समेत ताछेर फालेको घटनाप्रति द डायलेक्टिकल सोसाइटीको गम्भीर ध्यानाकर्षण भएको छ ।
सो घटना पश्चात्, राज्यको तमाम तागतको दुरुपयोग गरी पीडितमाथि जागिर खोसिदिने, गाउँ निकाला गरिदिने जस्ता धम्की दिएर गराइएको “मन्जुरीनामा”ले, आज राज्यले आम मानिसलाई कुन हदसम्म निरीह बनाएको छ भन्ने दृश्य खुलस्त पारेको छ ।
जात व्यवस्थाले जकडिएको नेपाली समाजको जर्जर चित्र दर्साउने उक्त घटनाले आम मानिसको सम्मानपूर्वक बाँच्न पाउने आधारभूत अधिकारको ज्यादतीपूर्ण हननलाई अभिव्यक्त गर्दछ । यो व्यवस्थाका जनप्रतिनिधि मानिने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष नै पिडक रही, राज्य संयन्त्रको चरम दुरुपयोगमार्फत आम जनतामा यो तहको त्रासको वातावरण सिर्जना गरिनु आज लोकतन्त्रका नाममा तानाशाही व्यवस्था चलिरहेको यथार्थको प्रतिविम्ब समेत हो । साथै, यस घटनाले नेपाली समाजमा पछिल्लो समय बढिरहेको धार्मिक आतिवादलाई उजागर मात्र गरेको छैन, बरु त्यस्ता कार्यमा जनताको करको निरन्तर दुरुपयोग गरिएको भयावह परिस्थितिलाई समेत पुनश्च सतहमा ल्याएको छ ।
यस घटनाको द डायलेक्टिकल सोसाइटी घोर भर्त्सना गर्दछ । न्यायप्रेमी साथीहरू, राज्यको यस अत्याचारका विरुद्ध सङ्गठित प्रतिरोधमा जुट्नु बाहेकको विकल्प छैन । आ-आफ्नो स्थानबाट नेपाली समाजको सम्पूर्ण रूपान्तरणमा सङ्गठित भई प्रतिरोधमा जुट्न हामी हार्दिक अपिल गर्दछौँ । साथै, सम्बन्धित निकायलाई यस घटनाको पूर्ण छानबिन गरी दोषीहरू विरुद्ध कडा कानुनी कारबाही गर्न समेत माग गर्दछौँ ।

You Might Also Like