राष्ट्रिय क्रान्तिकारी मोर्चाबाट अलग भएको बारे
यसै क्रममा २०८० वैशाख २० गतेको मोर्चाको बैठकले आफ्ना घटक सदस्यहरू टुङ्ग्याउने अनि मोर्चाको अवधारणा पत्र र आचारसंहिता तय गर्ने सहमति गरेको थियो । अवधारणा पत्र र आचारसंहिताको मस्यौदा तय गर्ने समितिमै पनि द डायलेक्टिकल सोसाइटी संलग्न थियो । यसपछि मोर्चाका घटक सदस्यहरू टुङ्ग्याउन निरन्तर विभिन्न माध्यमबाट छलफलहरू भए र मोर्चाका १२ घटक सदस्य रहने सहमति भएको थियो । यो कामको पहल पनि द डायलेक्टिकल सोसाइटीले लिएको थियो । अवधारणा पत्रको हकमा ३ वटा प्रस्तावहरू र आचारसंहितामा एउटा प्रस्ताव आएको थियो । यिनै विषयहरूमा निर्णय गर्न २०८० असार २३ मा मोर्चाको बैठक राखिएको थियो ।
तर असार २३ को उक्त बैठकमा आश्चर्यजनक ढङ्गले मोर्चाको घटक सदस्य नै नरहेको सङ्गठनका दुई प्रतिनिधिहरू उपस्थित थिए । उपस्थित उक्त सङ्गठनका प्रतिनिधीहरूमध्ये एकलाई केही समय अघि मात्रै यौन दुर्व्यवहारको आरोप लागेको थियो । अनि उक्त सङ्गठनले आरोपितको बचाउमा सङ्गठित रूपमै पीडितको चरित्र माथि प्रश्नहरू उठाएपछि यसै विषयलाई लिएर उक्त सङ्गठनमै फुट समेत आएको थियो । तर पीडितको चरित्र माथि निर्माण गरिने कुनै पनि संकथन र भाष्यहरूले यौन दुर्व्यवहारलाई वैधता दिन नसक्ने प्रष्टै छ।
घटक सदस्यहरू तय गर्ने छलफलहरूमा उक्त सङ्गठनको नाम कसैले प्रस्ताव समेत पनि गरेको थिएन । थप आश्चर्यको कुरा के थियो भने उक्त सङ्गठनलाई उक्त बैठकमा कसले बोलायो भन्ने कुरा मोर्चाका संयोजक र अरू घटक सदस्यहरूलाई नै थाहा थिएन ।
यस्तो मामलाहरूमा द डायलेक्टिकल सोसाइटीको निर्णय बारे मोर्चाका संयोजकलाई वैचारिकी निर्माणको क्रममा भएका विभिन्न छलफलहरूमा हामीले सुरु देखिनै जानकारी गराएका थियौ । अनि मोर्चाका संयोजकले यस मामलामा आफ्नो सहमति समेत जनाउनु भएको थियो ।
यो सबै कुराको पृष्ठभूमिमा संयोजकलाई जानकारी गराएर हामीले असार २३ को उक्त बैठक बहिस्कार गरेका थियौ । र यस लगत्तै असार २६ गते मोर्चाको संयोजक र घटक सदस्यहरूका नाममा द डायलेक्टिकल सोसाइटीको असहमति पत्र पठाएका थियौ । असार २९का लागी तय भएको मोर्चाको बैठकलाई सही निर्णय लिन सहज होस भन्ने सदिक्षासाथ पठाइएको उक्त लिखित असहमति पत्रले हाम्रो मूर्त, आधिकारिक र औपचारिक धारणा स्पष्ट रूपमा व्यक्त गर्दछ ।
तर यस सन्दर्भमा असार २९ को मोर्चाको उक्त सङ्गठन समेत सहभागी बैठकले हामीलाई “ बैठकमै उपस्थित भएर आफ्नो कुरा राख्न” अनुरोधको निर्णय गरेको जानकारी हामीलाई प्राप्त भएको छ । यो निर्णयलाई मोर्चाले सो सङ्गठनको मोर्चामा आबद्धता बारे लिएको स्पष्ट निर्णयका रूपमा हामीले बुझेका छौँ ।
यस सन्दर्भमा हाम्रो धारणा निम्नानुसार छ :
१) हाम्रो आन्दोलनका अनुभवहरूले हामीलाई सधैँ पितृसत्ता विरुद्ध निरन्तर संघर्ष गर्न सिकाएको छ । तर विडम्बना के हो भने हाम्रो आन्दोलनकै केही घटना र अनुभवले इतिहासमा यस सन्दर्भमा केही गम्भीर गल्ती भएको देखाउँछ । विगतका दिनबाट पाठ सिक्दै हाम्रो समाजलाई महिलाहरूका निम्ति सुरक्षित थलोका रूपमा निर्माण गर्ने उत्तरदायित्व बोकेको सङ्गठन हुनुका नाताले हामी राष्ट्रिय क्रान्तिकारी मोर्चालाई समेत यस तर्फ सचेत र उन्मुख रहन अनुरोध गर्छौ ।
२) समग्र समाजको क्रान्तिकारी रूपान्तरणको कार्यभार आज हाम्रो काँधमा छ । सच्चिन नचाहने कुनै अमूक व्यक्ति वा सङ्गठनलाई “सच्चाउने र सुधार्ने” काम न हाम्रो न त मोर्चाको नै प्राथमिकता हो । संघर्षको आँधीबेहरीले हाम्रो समाजको थुप्रै खराबीहरूलाई सच्याउने नै छ । यसैले मोर्चालाई पनि समग्र समाज रूपान्तरणका लागी सङ्घर्षमा केन्द्रित हुन हाम्रो अनुरोध छ ।
३) नयाँ कम्युनिस्ट आन्दोलनको निर्माणमा अभिप्रेरित अनि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा आन्दोलित क्रान्तिकारी मोर्चाले यति बेला पितृसत्ता विरुद्धको सङ्घर्षलाई वैचारिक र व्यवहारिक रूपमै प्राथमिकतामा राख्नु पर्ने छ । यस मामलामा अवधारणा पत्रका लागी हाम्रो तर्फबाट राखेको प्रस्ताव र पछिल्लो असहमति पत्रमा हामीले पर्याप्त भनिसकेका छौ । प्राथमिकताको यस कामलाई मोर्चाको पछिल्लो दुई बैठकका निर्णयहरू र विकसित घटनाक्रमले सही दिशा दिँदैन, बरु अवरोध गर्छ । उक्त निर्णयमा पुन समीक्षा गर्न र भएको त्रुटिहरू सच्याउन हाम्रो अनुरोध छ ।
४) मोर्चाको पछिल्ला दुई बैठकहरूले नेपालको नागरिकता सम्बन्धी कानुनमा लैङ्गिक समानताका लागी संघर्ष गरिनु पर्ने विषय उल्ट्यायो । संघर्ष र सहकार्य गर्नुपर्ने शक्तिहरूको बारेमा व्यवहारिक रूपले नै यसले आफ्नो अवधारणामा हेरफेर ल्यायो ।यस परिस्थितिमा द डायलेक्टिकल सोसाइटी यस मोर्चाबाट अलग भएको छ । हामी मोर्चामा सहभागी हुँदा सहकार्यमा रहनुभएका सबै साथीहरूलाई हामी धन्यवाद दिन्छौ। कुशल संयोजनका लागी संयोजक साथीलाई विशेष धन्यवाद छ । त्रुटि सच्याउँदै मोर्चाले गर्ने सबै आगामी न्यायपूर्ण कार्यक्रमहरूमा हाम्रो शुभकामना छ ।
क्रान्तिकारी अभिवादन सहित,
द डायलेक्टिकल सोसाइटी
मिति: २०८०/०४/०२